आज दशैंको मुख्य दिन, टीकाको उत्तम साइत १० बजेर १९ मिनेट, दिनभर लगाउन सकिने

आज दशैंको मुख्य दिन, टीकाको उत्तम साइत १० बजेर १९ मिनेट, दिनभर लगाउन सकिने

 87 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(१० कार्तिक)

दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टिका र जमरा लगाउने परम्परा छ । नवदुर्गा माताको प्रसादका रुपमा शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ ।

घटस्थापनाका दिन पूजाकोठामा स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चांग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० मजेर ११ मिनेट रहेको जनाएको छ ।टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेट बजे उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतः साइत खोज्नु नपर्ने र दिनभर टिका लगाउन सकिन्छ ।

टिका लगाईदिदा लगाइदिने पूर्व फर्केर लगाइदिने र लगाउने पश्चिम फर्केर लगाउनु पर्दछ ।

आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाउने व्यक्ती पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने बताईएको छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोगप्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

स्वास्थ्य सतर्कता अपनाई टीका लगाऔं

कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले टीका ग्रहण गर्दा स्वास्थ्य सतर्कता कायम गरी टीका लगाऔ । मास्क लगाएर मात्र टीका लगाऔ । घर परिवारमा मात्रै टिका लगाऔ, बाहिर ससुराली, मामाघर, आफन्त, छर छिमेक, इष्टमित्र साथिभाईको घरमा टिकाको लागी भरसक नजाऔ, कोरोना संक्रमण फैलने डर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *