खुला सीमाका कारण जोखिम

खुला सीमाका कारण  जोखिम

 2,992 total views,  4 views today

 


                             नेत्रप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत,कोटहीमाई गाउँपालिका, रुपन्देही                             
रुपन्देहीको दक्षिण क्षेत्र मर्चवार भारतीय सीमावर्ती जिल्ला महाराजगन्जसँग जोडिएको छ । महाराजगन्जको कोल्हुई क्षेत्रमा केही दिनअघि मात्रै ६ जना कोरोना भाइरसका संक्रमित भएका फेला परेपछि थप त्रास फैलिएको छ । सीमावर्ती क्षेत्र, खुला नाका, सहजै आउजाउ गर्न मिल्ने हुँदा मर्चवार क्षेत्रको हाम्रो कोटहीमाई गाउँपालिका मात्रै नभई सिंगै मर्चवार क्षेत्र अहिले उच्च जोखिममा छ । कोटहीमाई गाउँपालिकाको सीमानाका कदमहवा र अर्को मर्यादपुर क्षेत्रमा छ । सीमानाकामा खोला भए पनि अहिले खोलामा पानी सुकेकोले दिउँसो राति आउजाउ गर्ने गर्छन् । मुख्य नाकामा भने सुरक्षा निकायले रोकेका छन् ।

तर खुला सीमानाका लामो भएको र सीमावर्ती जिल्लामा कोरोना भाइरसका संक्रमितसमेत फेला परेकाले जोखिम बढेको हो । हामीहरूले जिल्लास्थित प्रशासन एवं सुरक्षा निकायमा यो विषयमा पनि अवगत गराएपछि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली निरीक्षणमा गएको थियो । अहिले सीमामा सुरक्षा निकायले निगरानी बढाएका छन् । यसमा स्थानीय जनता पनि चनाखो हुनुपर्छ । सरकारले एक्लै केही गर्न सक्दैन, त्यसैले जनता पनि चनाखो हुनुपर्छ । बाहिरबाट कोही आएको देखे तत्काल स्थानीय तह वा नजिकको सुरक्षा निकायमा खबर गर्नुपर्छ । भारतबाट आफन्त कहाँ बस्ने भन्दै पाहुना हुन गाउँपालिकामा आउन सक्छन्, त्यसरी बसाल्नु हँुदैन र आउन दिनु पनि हुँदैन । यति कुरामा ध्यान दिए जोखिम कम गर्न सकिन्छ ।

अर्को कुरा अझै पनि रोजगारीका लागि भारत गएका राति राति लुकेर आउने क्रम छ, त्यस्ता नागरिकलाई गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा बस्न आग्रह गर्दछौं ।
करिब ५० हजार जनसंख्या रहेको कोटहीमाई गाउँपालिकामा ७ वडा छन् । प्रत्येक वडामा कोरोना भाइरसका बारेमा स्थानीय भाषामा सचेतनामूलक सन्देश प्रवाह भइरहेको छ । अहिले यो काम प्रहरीबाट भइरहेको छ । जनचेतना फैलाउने काम निरन्तर छ । त्यसैगरी गाउँपालिकाले १ करोड रुपैयाँको विपद् कोष व्यवस्थापन गरेका छौं । त्यसैबाट गाउँका गरिब तथा विपन्नलाई राहत र क्वारेन्टाइन ब्यवस्थापन गरेका छौं ।

भारतमा रोजगारी गरी आउनेहरू लकडाउन पछि १ सय ५० जना रहेको तथ्यांक छ । प्रायः होम क्वारेन्टाइन र कोही गाउँपालिकाले मर्चवार आदर्श उच्च माविमा निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । तेस्रो मुलुकबाट चैत महिनाभित्र कोही पनि आएका छैनन् । माघ फागुनमा आएको तथ्यांक छ ।
लकडाउनको पालना बजार क्षेत्रमा राम्ररी भएको छ । भित्री क्षेत्रमा घर बाहिर बस्ने र सुरक्षा निकाय देखे घरभित्र गएर बस्ने गरेको पाइएको छ । त्यस्ता नागरिकलाई मेरो आग्रह छ, लकडाउन भनेको तपाईंहरूकै सुरक्षाका लागि हो । लकडाउन अवधिभित्र घरमै बस्नु होला । अप्ठेरो परे मद्दत चाहिए स्थानीय तहमा या नजिकको सुरक्षा निकायमा खबर गर्नु होला ।

अर्को कुरा हामीले गाउँपालिकामा प्रथम चरणको राहत वितरण गरिसक्यौं । प्रत्येक वडामा गरिब र विपन्न वर्गलाई राहत वितरण ग-यौं । ४ जनाभन्दा कम परिवार भएकालाई १० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ केजी नुन, २ वटा साबुन र ५४ बढी परिवारलाई थप ५ केजी चामल दिएका छौं । दोस्रो चरणको राहत वितरणको तयारीमा छौं । १५ सय गरिब विपन्न, दैनिक मजदुरी गरी खानेहरूको तथ्यांक छ ।

नागरिकहरूका लागि खाद्य लगायत दैनिक उपभोग्यवस्तुको अभाव नहोस् भनेर हामी लागिपरेका छौं । हरेक वडामा आपूर्ति ब्यवस्था समिति गठन गरिएको छ । गाउँपालिकाका बजार क्षेत्रमा भएको खाद्यान्नको लगत निकाल्ने, पूरै गाउँमा के कस्तो अवस्था छ र आवश्यक परे नजिकको सहर भैरहवाबाट आयात गर्न सिफारिसपत्र बनाउने गरेका छौं । जहाँसम्म लाग्छ हाम्रो गाउँपालिकामा खाद्यान्नको अभाव हुन दिँदैनौं । तरकारी पनि यहाँ प्रशस्त छ । मुख्य चुनौती भनेको खुला सीमानाका हो । यहींबाट जोखिम छ । गाउँबासी चनाखो भएर बाहिरकालाई आउन नदिने, काम गर्न बाहिर गएका फर्किएर आए क्वारेन्टाइनमा पठाउने र सबै घरभित्र बसेर सुरक्षित रहन आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *