कोरोना लागेको थाहा भइहाल्छ नि भन्नु गलत हो : डा मनोहर जोशी

कोरोना लागेको थाहा भइहाल्छ नि भन्नु गलत हो :  डा मनोहर जोशी

 710 total views,  1 views today

कोरोना आरएनए भाइरस हो र जीवकोषमा पाइने सबै अवयव (अंगहरू)यसमा पाइँदैन । त्यसैले भाइरस जीवित प्राणी हो या मृत हो भन्ने विषयमा अझै पनि छलफल चलिरहेको छ ।
हाल आएका कोभिड–१९ वा पछि वैज्ञानिक नामकरण गरिएका सार्सकोभ–२, पहिले–पहिले आएका सार्स, मार्सकै परिवर्तन भाइरस भनिन्छ र यसका प्रकार, आकार र लक्षण सर्ने प्रक्रिया, औषधि तथा खोपका पनि नयाँ तरिकाले अनुुसन्धान गर्नुपरेको छ ।                                                                      
कोरोनालाई लिएर विश्व समुदायमै विभिन्न विचार भ्रम र यथार्थ रहेको देखिन्छ । तीमध्ये केही भ्रम र यथार्थको छलफल आज आवश्यक देखिएको छ, जुन धेरैलाई चिन्ताको विषय पनि बनेको हुनसक्छ ।
कोरोना लागेको त थाहा भइहाल्छ नि भन्नु गलत हो । ८६ प्रतिशत व्यक्तिलाई कोरोना लागेको थाहा हुँदैन । सामान्य रुघाखोकीजस्ता समस्या देखिन्छ, तर अरूलाई सार्न सक्छन् । त्यसैले यदि हामी कोही विदेश अथवा भारतलगायतका देशहरूमा हालसाल अर्थात् केही महिना दिनअघि भ्रमण गरी फर्किएका छौ वा विदेशीको सम्पर्कमा आएका छौं भने क्वारेन्टाइनमा बस्नुपर्छ । त्यो भनेको छुट्टै पनि हुनसक्छ वा घरमै पनि । 

                                                       डा.मनोहर जोशी                                                                                                               
अर्को भ्रम भनेको नुन–पानी वा तातो पानी पिउँदो घाँटीमा रहेका भाइरस पखालेर पेटमा लैजान्छ र पेटमा पुगेर मार्छ । तातो पानी पिउनु राम्रो हो । नुन–पानीले घाँटी घालघुल गर्नु राम्रो हो । तर, बगाएर पेटमा लैजान्छ र मर्छ भन्ने भ्रम हो । नुन–पानी र तातो पानीसँग कोरोना भाइरस कमजोर हुने त्यस्ता केही वैज्ञानिक आधार प्रमाणित भएका छैनन् । रह्यो कुरा कोरोना भाइरसले सिधै श्वासप्रश्वासमा समस्या बनाउने हो । कोरोनाले फोक्सोमा संक्रमण बढी हुने हो ।                                
ओजोन उपचारले भाइरस मार्छ भन्ने कुरा पनि भ्रम हो । यसले भाइरस मार्दैन, बरु शरीरमा रहेका जीवकोषलाई पनि प्रभाव पारी नोक्सान पुयाउँछ । तर, यो कीटनाशक भने हो, त्यसैले कुनै ठाउँमा यसको प्रयोग प्रतिबन्धित पनि छ ।                                                                                                 
रक्त समूहले पनि कोरोना भाइरस संक्रमण बढी हुने भन्ने कुरा पछिल्लो समय मात्र आएको हो । यो हुन पनि सक्छ र नहुन पनि सक्छ । यसको अध्ययन पनि हाल चीनको महामारीमा मात्रै गरिएको थियो । त्यहाँको अध्ययनको रिपोर्टले रक्त समूह (ब्लड ग्रुप) ओ भएकालाई कम संक्रमण भएको र ‘ए’ रक्त समूहका बढी संक्रमित देखिएको र मृत्यु पनि बढी भएको थियो चीनमा । यसो भन्दैमा ‘ए’ रक्त समूह चिन्तित हुनपर्ने र ‘ओ’ समूह खुसी हुनुपर्ने पनि होइन ।                                                                        
गर्मी मौसममा यो भाइरस हराएर जान्छ भन्नु पनि भ्रम नै हो । वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसको संक्रमण गर्मी मौसम भएका देशहरू सिंगापुर, मलेसिया, थाइल्यान्ड, इन्डोनेसियालगायत खाडी देशहरूमा पनि फैलिएको छ र त्यहाँ मृत्यु पनि भएको छ । तर, १८ औं शताब्दीमा आएको इन्फ्लुएन्जाको महामारीमा बिरामीहरूलाई अस्पतालबाहिर घाममा वा अन्यत्र पनि घाममा राखेर उपचार गर्दा बिरामीको मृत्युदर कम पाइएको थियो । अप्रिलबाट गर्मी बढी हुन्छ, आफैं हराएर जान्छ भनेर त्यसै बस्यौं भने प्रकोप झन् बढ्छ । त्यसैले भ्रम पालेर बस्नु हुँदैन । सचेतना अपनाउनुपर्छ । घाम तापेर बस्नु भनेर स्वास्थ्यका लागि राम्रो हो ।                                                                           
सास रोक्न सक्ने क्षमताले कोरोना भाइरस संक्रमण हुँदैन भन्ने कुरा पनि भ्रम नै हो । यो पनि गलत कुरा हो । हो, तपाईंले लामो–लामो श्वास लिने र केही बेर रोक्ने अभ्यास गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा पुयाउन मद्दत गर्छ, तर कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउन भने सक्दैन ।
दुई सातासम्म संक्रमणका लक्षण देखिन सक्छ । यो सही कुरा हो । यदि कसैलाई पनि भाइरसको संक्रमण भएको अवस्थामा १४ दिनसम्म रोगको लक्षण देखिन र रोग अरूलाई सर्न सक्छ । १४ दिनसम्ममा केही समस्या नभएमा ऊ स्वस्थ मानिन्छ । ऊ संक्रमित होइन भन्ने पुष्टि हुन्छ । त्यसैले १४ दिन क्वारेन्टाइनमा राख्ने भनेको हो ।                                                                                         
तातो पानीले नुहाएमा, साउनामा तातोपानीको बाफ लिने गरेमा र हेयर ड्रायरको तातो हावाले कोरोना भाइरस मर्छ भन्ने कुरा पनि भ्रम र असत्य कुरा हो । तातो हावा र पानी भाइरस बसेको जीवकोषसम्म पुग्ने होइन र भाइरस पनि मार्दैन । त्यसैले त्यस्ता असत्यको पछि लाग्नु हुँदैन । तातो पानीले नुहाउनु र तातो पानीको बाफ लिनु स्वास्थ्यका लागि राम्रो भने हो ।                                                               
यो नयाँ कोरोना भाइरस हावाबाट पनि सर्न सक्छ भन्ने कुरा हुन पनि सक्छ । किनभने यो भाइरस हावामा ३ देखि ४ घण्टासम्म रहन्छ भने सतहमा या अन्य वस्तुमा ठाउँ हेरि केही घण्टादेखि दिनसम्म भाइरस रहन्छ । त्यसैले नागरिकहरू बाहिर सम्पर्कमा नआउन् भनी लकडाउन गर्ने गरिएको हो । यो भाइरस खोक्दा, हाच्छ्युँ गर्दा संक्रमित रोगीको थूक,

याल, सिंगानसँगै बाहिर आउँछ र त्यहीबाट अरूलाई सर्छ । बाहिर सतहमा भएका भाइरसहरू हाम्रा हातमा लाग्ने र हातबाट मुख, नाक र आँखाको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । त्यसैले साबुन–पानीले बारम्बार हात धुने वा स्यानिटाईजर हातमा लगाउने भनिएको हो ।                                         
कोरोना भाइरसको संक्रमण वृद्धवृद्धालाई बढी हुन्छ भन्ने कुरा पनि भ्रम हो । यसबाट जो–कोही बिरामी भएका छन् । अहिले त जन्मिएका बच्चामै संक्रमण भएको समेत भेटियो, तर मृत्युदर वृद्धहरूमा वा ६० वर्षभन्दा माथिकोमा धेरै देखिएको छ । वृद्धवृद्धाहरूको शरीरको प्रतिरोध शक्ति अन्य उमेर समूहका भन्दा अलि कमजोर हुने भएकाले समस्या बढी हुने हो ।                                                       
भिटामिनको प्रयोगले रोगसँग लड्न सक्ने शरीरको प्रतिरोध शक्ति बलियो बनाउँछ भन्ने कुरा पनि गलत नै हो । हुन त चीनमा भिटामिन सीको प्रयोग भएको थियो उपचार गर्न, तर यसले हाम्रो प्रतिरोध शक्ति वृद्धि गर्छ भन्ने प्रमाणित गर्दैन, तर पनि भिटामिन सी, बी पाइने फलफूल, तरकारी खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । चिनियाँ अध्ययनले शाकाहारी व्यक्तिलाई यो रोगको संक्रमण कम रहेको भने देखाएको छ ।                                                                                                          
शरीरको तापक्रम नापेर रोग छुट्याउन सकिन्छ भन्ने कुरा पनि अलि भ्रमात्मक देखिएको छ । विमानस्थल, सीमा नाकाहरूमा यो राखिएको थियो । आगन्तुकहरूको शरीरको तापमान यसबाट लिने गरिन्थ्यो । तर, कतिलाई तत्कालै ज्वरो नभए पनि पछि संक्रमण भएको देखियो । यसबाट ज्वरो बढी देखिए सचेत गराउँदै अस्पताल अथवा क्वारेन्टाइनमा पठाउन भने सजिलो हुन्थ्यो । तर, शरीरको तापमान बढी हुँदैमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भने हुँदैन । त्यसका लागि विशेष परीक्षण नै हुनुपर्छ ।                                                                                                                       
कोरोना भाइरसको संक्रमण भए–नभएको पत्ता लगाउन परीक्षणपश्चात् तीन–चार दिन नै लाग्छ भन्ने कुरा साँचो हो । अहिलेको परीक्षण पीसीआर पद्धतिबाट गरिन्छ, यो अति राम्रो छ । तीन–चार दिन नै लाग्छ रिपोर्ट आउन । तर अहिले सेरोलोजिकल टेस्ट गरी आधा घण्टामै रिपोर्ट दिने पनि भइसकेको छ । कोरोना भाइरस संक्रमण भए–नभएको पत्ता लगाउने आधार नै टेस्ट (परीक्षण) हो । त्यसैले बढीभन्दा बढी टेस्ट गर्न सकिए राम्रो हुन्छ । त्यसतर्फ सरकारले छिटोभन्दा छिटो काम गर्नुपर्छ ।                                                                                                                                       
घर पालुवा कुकुर, बिरालोबाट पनि कोरोना भाइरस सर्छ भन्नु भ्रम र असत्य हो । यो मानिसबाट मानिसमा सर्ने गर्छ । हङकङमा आएको सार्स महामारीमा कुकुरमा पनि यो रोग देखियो, तर कुकुरबाट मान्छेमा सरेको देखिएन ।                                                                                                              
हात धुनेभन्दा हात स्यानिटाइजर गर्नु राम्रो हो भन्नु पनि भ्रम र असत्य नै हो । यथार्थ के हो भने साबुनपानीले हात धुनु एकदम राम्रो हो । फिंज निकाली कम्तीमा पनि हातको पन्जाको अगाडि–पछाडि औंलाको कापमा समेत राम्ररी कम्तीमा पनि २० सेकन्डसम्म धुनुपर्छ । हात धुनु नै सबैभन्दा राम्रो हो । स्यानिटाइजर अहिले धेरै थरीका आइरहेका र स्थानीयमा पनि बन्ने गरेकाले त्यसको गुणस्तर पनि थाहा नहुने र साबुनभन्दा अधिक महँगो पर्ने भएकाले सबैभन्दा राम्रो भनेको धेरैभन्दा धेरै साबुनपानीले हात धुनु नै हो । साबुनको उपलब्धता भएन भने विकल्पका रूपमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।                                                                                                                               
हातमा पन्जा र मुखमा मास्क लगाएर कोरोनाभाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने कुरा पनि सधैं सत्य हुँदैन । पन्जा वा मास्क लगाए पनि एउटै पन्जा लामो समय वा धेरै दिनसम्म लाइरहे वा सामान्य कपडाको मास्क लगाउने र पटक–पटक त्यही फोहोर पन्जा लाएको हातले मुख, आँखा, नाक छुनुभयो भने रोग सर्ने सम्भावना बढ्छ । पन्जा लगाएपछि कुन कामका लागि लगाएको हो, काम सकिएपछि अरू कामको सम्पर्कमा नहुने गरी पञ्जा फाल्ने र साबुनपानीले हात धुनुपर्छ । त्यस्तैगरी मास्क पनि एपटक प्रयोग गरिसकेपछि फाल्नुपर्छ । एउटै मास्क धेरै दिन लगाए अन्य रोग पनि सर्ने सम्भावना हुन्छ ।                                                                                                                           
कोरोना भाइरस संक्रमणसम्बन्धी यथार्थभन्दा भ्रम बढी आएका छन् अहिले, त्यसैले सबैभन्दा राम्रो सचेतना अपनाउनु हो ।कुनै समस्या देखिए नजिकको स्वास्थ्य चौकी, अस्पताल वा प्रहरी प्रशासनमा जानकारी गराउनु अहिलेको आवश्यकता हो ।

(लेखक डा जोशी युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ हस्पिटल (यूसीएमएस) भैरहवा का वरिष्ठ चिकित्सक (फेमिली फिजिसियन) हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *